मर्दीको उकालो चढ्दा बैंक दिनेश थकालीलाई फुरेका पाँच व्यवस्थापकीय शूत्रहरु ।

गत साता प्रकृतिले सम्पूर्ण डाँडा सेताम्मे हुने गरि खुला दिलले दिएको पूर्ण हिमपातले जुम्ला र मुस्ताङ्गका स्याउ बारीलाई झै मेरो स्मृती पटलमा केही अघि म र मेरी जिवनसंगिनीले गरेको मर्दी भ्रमणको स्मरणले सिंचित गरिदियो । हामी आज जे छौ, त्यो हरेक अन्य मानिससँगको अन्तरक्रिया, विभिन्न आरोह अवरोहको अनुभवको संगालो, समय तथा वातावरणसँगको घर्षणले खारिएर बनेको भन्ने मेरो मान्यता हो । यस भ्रमणले पनि केही मात्रामा व्यवस्थापनका मिहिन तर महत्वपूर्ण सुत्रहरु पुनराबृत्ति गरि मनन गर्न सहयोग गरेको छ ।

लिनियर प्रक्षेपण भ्रामिक हुन सक्छ: एकाविहानै पोखराबाट ट्याक्सीमा फेदि हुदैं धम्पुस पुगियो । हेम्जामा फिर्के खोला दाहिने हुदैं फेदी सम्म लगभग समथरमा गुडेका हामी त्यसपछि धम्पुसको उकाली चढ्न मारुतीलाई हम्मे हम्मे भयो । धम्पुस देखि पैदल पोथना सम्म फेरी मत्थर उकालो लागेका हामी लो क्याम्पको ३०५० मिटरको उकालीमा पुग्दा पृथ्वीको गुरुत्वकार्षण भर्सेस पिडुलको शक्तिको राम्रै मापन भयो । व्यवस्थापनमा धेरै जसो कार्य प्रक्षेपणको आधारमा गरिन्छ । प्रक्षेपण सामान्यतया लिनियर गरिन्छ, अर्थात् निश्चित अनुपातमा बृद्धि वा कम हुने भन्ने अनुमान गरिन्छ । यदि पोखरा देखि पोथना सम्मको लगभग १५ डिग्रिको उचाईलाई प्रक्षेपण गर्ने हो भने तेस्रो दिन पुगिने बेस क्याम्प को ४५०० मिटरको उचाँइमा जम्मा लो क्याम्पको उचाईको अनुमानित लक्ष्य हुन्छ । यसले दुई दिनको अनुमान चुक (Projection Error) हुन जाने देखिन्छ । तर तात्पर्य प्रक्षेपणहरु काम नै लाग्दैनन् भन्ने होइन, सो मोटामोटी अन्दाजका लागि उपयुक्त हुन सक्छ र सम्पूर्ण जानकारी सहित गरिएको प्रक्षेपणमा चुकको सम्भावना कम हुन्छ ।

उकाली गाह्रो ओराली सजिलो हुन्छ: मेरो जन्मथलो नभए पनि सम्पूर्ण थकालीहरुको जस्तै पुखयौली मुस्ताङ्ग । अहिले जस्तो सहज बाटो नहुँदा घोडाको प्रयोग बेसी हुन्थ्यो । घोडाको उकाली चढ्ने क्षमता पनि मान्छेको जस्तै असंगती हुन्छ । मुल्य त्यसै अनुसार फरक पथ्र्यो । उकालीमा सुस्ताउने घोडालाई “ल्ह्न्च्या” अर्थात अल्छी भनिन्छ । उकालीमा सजिलो गरि बोक्नेलाई “ल्ह्म्बु” अर्थात लिडर वा नेता भनिन्छ । पोथना देखि माथि लाग्दा सबैको रफ्तारमा भिन्नता देखियो । जव उकाली आयो अनि बल्ल सबैको स्टामिना तथा कोलेस्ट्रोल लेभल विना रक्तपातको पक्का जाँच भयो । यसले सम्झनामा ल्यायो, समथरमा त सबै हिड्छन्, उकालीमा कुदेको पो पौरखी । ठ्याक्कै त्यही कुरा व्यवस्थापनमा लागू हुन्छ, रिसाइलेन्सनै पक्का लिडरको हुनु पर्ने मुख्य गुण हो । सहज अवस्थामा नेतृत्वको जाँच हुदैन, अप्ठ्यारो परिस्थितीमा संस्थालाई कसरी परिचालित गर्न सकिन्छ सो ले नै लिडरसिप प्रमाणित हुन्छ ।

नपहिल्याएको बाटो: उकाली चढ्दा विशेषत दुई वटा बाटा हुन्छन् । एउटा सहज तेर्सो बाटो हुन्छ, उकालो बिस्तारी जाने तर लामो । यो बाटो सजिलो पहिचान हुन्छ । अर्को बाटो त्यति पहिल्याउन सहज हुदैन तर बाटोसँग परिचित स्थानियहरुले प्रयोग गर्छन्, त्यो बाटोमा भिड हुदैन, चाडो चढ्न सकिन्छ तथा अलि असहज हुन्छ । सबैले हिडेको बाटोले जित्न सकिन्न, उकालीको जस्तै एकल बाटोमा अरुलाई उछिन्न सकिन्न । व्यवस्थापनमा “जिग ज्याग” सिद्धान्त भन्ने हुन्छ । अरु यो कुनामा हुँदा हामी सो भन्दा अगाडी अर्को कुनामा हुन सक्नु पर्छ । अरुले जे गर्यो त्यही गरेर विजयी हुन सकिन्न । नव बाटोहरु पहिल्याई सोमा हिड्न सक्नु नै सफल लिडरको अर्को आवश्यक गुण हो । मर्दीको उकालीमा सम्झेको अर्को सुत्र यो पनि हो ।

सन्घर्ष अनन्त यात्रा हो: पोथनामा चिया खान बस्दानै मेरी जिवनसाथी बिसाउने चौतारी खोज्न थालीसकेकी थिईन । त्यसपछिको लो क्याम्पसम्मको यात्राको उकाली हामी नहिड्नेलाई सगरमाथा चढे जस्तै भयो । एक हातमा रहेको लठ्ठी तथा अर्को छाती सम्म उठेको खुट्टाको साहारामा निरन्तर यात्रा गरियो । उकालो चढ्दा आँखाले देखुन्जेलको चोसो नै अन्तिम टुप्पो जस्तो लाग्ने तर त्यो आशा निमेश भरलाई हुने, अलि अघि पुगेसी फेरी थप उकाली देखिने । खुईय खुईय गर्दा गर्दै करिव चार बजे मा बल्ल लो क्याम्प पुगियो । मोवाईलको नेटवर्क आउने जाने थियो । बिहान लो क्याम्पबाट हिड्दा एक टाकुरो नेटवर्क देखियो । भाई राजु जसले केही अघि त्यही उकाली नापी सकेका थिए उनलाई फोन थिचे । लो क्याम्प पछि त सम्म सम्म छ सर, एकछिन एकछिन हो, धाडस दिए उनले । के को हुनु एकछिन सम्म आए जस्तो फेरी उकाली, मन मनै गाली गरे, मोरा । हाई क्याम्पमा पुगेसी यसो बिसाएर हेरे । माथि बेस क्याम्प तिर मान्छे हिडिरहेका थिए । त्यस भन्दा पनि माथि मर्दि हिमाल हासी रहेकी थिईन । अंग्रजीमा त्यसैले भनिन्छ, दिस इज नट दि एण्ड बट जस्ट ए टर्न । संघर्ष त्यस्तै नै हो । अनन्त अनि निरन्तर । भरखर क्यारियर गरेकाले बुझ्नु पर्छ, धैर्यता भन्दा अर्को ठूलो सुत्र छैन सफलताको ।

परिस्थितीजन्य समायोजन: व्यवस्थापनको अर्को महत्वपूर्ण कुरा हो जस्तो सुकै अवस्थामा घुलमिल हुन सक्नु । सम्भवत बिहान व्युझिंदा सबै भन्दा अगाडी स्वाभाविक रुपमा मोवाइलमा हात जान्छ मेरो, अटोमेटेड रुपमा । बेलुकी सुत्दासम्म पनि मोबाइललाई नै अन्तिम गुडनाईट गरिन्छ । तर यो यात्रामा सो मोबाइल राती लघुशंका जादा टर्च बाल्ने बाहेक काम भएन । आक्कल झुक्कल नेटवर्क आउदा बाहेक अन्य बेला फोन लागेन । सोलारले चार्ज भाको होटलको व्याटरी व्याकअप खाना खुवाउदा चैट भई सकेको थियो । अध्यारोमा छाम्दै खाट पहिल्याउनु बाहेकको बिकल्प थिएन । हाई क्याम्पमा रेष्टुरेन्टमा पोस्टर थियो, मोबाइल चार्ज गरेको २०० रुपैया मात्र । मानिस जस्तो अनुकुलन गर्न सक्ने जीव अन्य छैन । ए यस्तो भए बर्वादै हुन्छ भनी सोच्नु मिथ्या हो । समय र परिस्थितीसँग आवश्यकता सापेक्ष छ, निरपेक्ष छैन । जे चिज हामी अपरिहार्य भन्छौ त्यो नभए पनि फरक पर्दैन । त्यसैले जस्तो पर्छ त्यस्तै तर्छ भन्छन् । वातावरणसँग जती चाँडो घुलमिल हुन सक्यो, त्यती नै अस्तित्व बचाउन र आफ्नो कार्यमा रमाउन सकिन्छ ।
हाई क्याम्प पुगेर होटलमा भारी बिसाए पछि मलिलो लागेको घाममा एक क्यान वियर लिएर नजिकको ढिस्कोबाट ढुंगा फाल्दा लाग्ला जस्तो दुरिको हिमाललाई निहारे । दुई पलमै मिठो निन्द्रामा परेछु, बिना एसीको बातानुकुलित चिसो सिरेटोमै । हिड्ने यहीसम्म हो, काम फत्ते भयो भन्ने महशुस भएर हो वा त्यती धेरै हिडेर मेहनतको फल मिठो हुन्छ भन्ने उखान चरितार्थ भएर हो । काम नगर्ने खाली खोइरो खन्ने प्रबृत्तिकाले बुझ्नु पर्ने अन्तिम चुरो कुरो ।

 

(क्लीकमाण्डु डट कम मा मिति २०१९ फेब्रुवरी ७ मा प्रकाशित)